काठमाडौं । श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका श्रीमान् नै हत्या अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति संखुवासभा जिल्लाको मादीका प्रेम दोर्ची शेर्पा हुन् ।
प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे १० बजे आफू र श्रीमती मिना शेर्पा ओखरबोट बजारबाट घर फर्कँदै गर्दा श्रीमती बीच बाटोबाट आफैं हिँडेर बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
तर घटनाबारे अनुसन्धान गर्दै जाँदा मिना शेर्पाको हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा श्रीमान् प्रेम दोर्चीले नै विवादपछि कुटपिट गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिए ।
उनका अनुसार घटनाको राति घर फर्कने क्रममा विवाद भएपछि प्रेम दोर्चीले मिना शेर्पाको हत्या गरी शव त्रिपालले बेरेर खाल्डो खनी गाडेका थिए। प्रहरीले घटनास्थलबाट शव उत्खननसमेत गरेको छ ।
घटनापछि फरार रहेका प्रेम दोर्ची १९ दिनपछि पक्राउ परेका हुन् । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।























