दाङ । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको यात्रुबस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुलबाट खोलामा खस्दा २२ जना यात्री घाइते भएका छन्। दुर्घटना आज बिहान करिब ३ बजे भएको हो।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कौडियापुल पार गर्ने क्रममा अचानक पुलबाट तल खसेको हो। बसमा ३८ जना यात्रु सवार थिए।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्याइएको छ।
प्रहरीका अनुसार सबै घाइतेहरूको उपचार भइरहेको छ, भने २ जनालाई थप उपचारका लागि बाहिर रेफर गर्नुपर्ने सम्भावना रहेको छ।
बस चालकले प्रारम्भिक बयानमा पट्टा (लीफ स्प्रिङ) भाँचिँदा बस अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिएका छन्।

























