काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा ज्यान गुमाएका पाँचै नेपालीको पहिचान खुलिसकेको छ। आगलागीमा नेपालीसहित २५ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्।
गोवा प्रहरीका अनुसार मृत्यु हुने नेपालीहरूमा— चूर्णबहादुर पुन (३१), दाङ, लिलबहादुर कटुवाल ‘विवेक’, सिन्धुली, सविन विश्वकर्मा, झापा, सुदीप विश्वकर्मा, झापा, मनोज जोरा, डडेलधुरा रहेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, सबै मृतकको शव नेपाल ल्याउन नयाँदिल्लीस्थित नेपाली दूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ।
विशेषगरी दाङका चूर्णबहादुर पुनको शव गोवाबाट एयर एम्बुलेन्समार्फत लखनऊ ल्याई त्यहाँबाट स्थलमार्ग हुँदै दाङ पु¥याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
अन्य नेपालीको शव पनि घरसम्मै पुर्याउने व्यवस्था मिलाउन भारतस्थित नेपाली समुदायले समेत सहयोग गरिरहेको छ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनामा मृत्यु हुनेका परिवारलाई रू. ५ लाख र घाइतेलाई रू. ५० हजार राहत उपलब्ध गराउने घोषणा गरेका छन्।
आगलागी कसरी भयो ?
शनिबार मध्यराति नाइट क्लबमा आगलागी सुरु भएको र त्यसक्रममा ग्यास सिलिन्डर विष्फोट हुँदा आगो अझ भयावह बनेको प्रहरीले जनाएको छ।
साँघुरा बाटोका कारण दमकल घटना स्थलसम्हि तत्काल पुग्न नसक्नु, र क्लबमा प्रभावकारी आगो नियन्त्रण प्रणाली नहुँदा मानवीय क्षति बढी भएको बताइएको छ।
धेरैजसो मानिस भुइँतला र भान्सातिरै थुनिएर ज्यान गुमाएको उल्लेख छ। केहीको जलेर र केहीको धुवाँमा निसासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
क्लब अवैधरूपमा सञ्चालन
अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा नाइट क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैधरूपमा सञ्चालन भइरहेको पुष्टि भएको छ। घटनापछि गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ।
यस्तै, मालिक सौरभ लुथरा र गौरव लुथरा विरुद्ध मुद्दा दर्ता गरिएको छ भने, नियम विपरीत अनुमति दिएको आरोपमा स्थानीय सरकारका तीन वरिष्ठ अधिकारी निलम्बनमा परेका छन्।

























