काठमाडौं । आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस वर्षको दिवसको नारा ‘मानव अधिकार, हाम्रा दैनिक आवश्यकताहरू’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० मात्रै यो दिवस मनाउन थालिएको हो ।
यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो । त्यसपछि सभाले ४२३ (भी) रेज्योलुसन पास गरी देश र सम्बन्धित संगठनहरूलाई १० डिसेम्बरलाई दिवसका रूपमा मनाउन सूचना जारी गरेको थियो ।
मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बद्र्धधन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ ।
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन् ।
























