जनकपुरधाम । कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सबै निर्णय बदर गरेको छ । आइतबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगतै मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित तीन जना मन्त्रीहरुसहित बसेको बैठकले सरोजकुमार यादव नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट गरेका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो ।
कृष्णप्रसाद यादव नेतृत्वको सरकारले कातिक २३ देखि मंसिर २१ सम्मको अवधिमा बसेको मन्त्रिपरिषद्को बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा, काजसँग सम्बन्धित निर्णय बदर गर्ने तथा कातिक २३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरुबाट भएका कर्मचारीहरुको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा । काजसँग सम्बन्धित सम्पूर्ण निर्णयहरु बदर गर्ने निर्णय गरेको हो ।
यस्तै, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेस प्रदेशका सचिव जयकुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि साविक जिम्मेवारी अतिरिक्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।























