काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा गठन भएको ‘उज्यालो नेपाल पार्टी’ को चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने प्रारम्भिक सहमति गरेका खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ ले आफ्नो निर्णय परिवर्तन गरेको छ। अब पार्टीले आफ्नै चुनाव चिन्ह ‘लाइक’ प्रयोग गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।
‘हाम्रो पार्टी नेपाल’का केन्द्रीय सदस्य प्रेमनारायण विक का अनुसार उज्यालो नेपाल पार्टीकै चिह्नमा चुनाव लड्ने प्रारम्भिक सहमतिमा कानुनी जटिलता देखिएपछि पार्टीले पुनः सोचविचार गरी निर्णय परिवर्तन गरेको हो।
“सुरुमा उज्यालो नेपाल पार्टीकै चिह्नमा चुनाव लड्ने सहमति गरेका थियौँ, तर कानुनी झन्झट रहेछ। साथै, हाम्रो पार्टीले चुनाव जिते पनि पार्टीको अस्तित्व स्पष्ट नदेखिने रहेछ। त्यसैले अब आफ्नै चिह्नमा चुनाव लड्ने निर्णय गरेका हौँ,” उनले भने।
तर, चुनाव चिह्न फरक भए पनि उज्यालो नेपाल पार्टीसँग चुनावी तालमेल भने कायम रहने उनले स्पष्ट पारे।
यसअघि मंसिर १० गते दुवै नयाँ दल—उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल—ले ‘बिजुलीको चिम’ (उज्यालो नेपाल पार्टीको चिह्न) एउटै चुनाव चिन्हका रूपमा प्रयोग गर्ने सहमति गरेका थिए।

























