जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक निर्धारित समयभन्दा दुई घन्टा ढिलो सुरु हुने भएको छ। मुख्य मन्त्री सरोजकुमार यादवले विश्वासको मत दिउँसो २ बजे मात्र लिन सकिने अडान राखेपछि बैठक सारिएको हो।
प्रदेश सभा सचिवालयले बुधबार बिहान साढे ८ बजे विश्वासको मतका लागि बैठक बोलाएको थियो। तर बैठक सुरु गर्न ढिलाइ हुनुका साथै मुख्यमन्त्री यादव तथा एमालेका सांसदहरू उपस्थित नहुँदा उपसभामुख बबिता कुमारी राउत ईशरले बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिन्।
करिब साढे १० बजेसम्म पनि मुख्यमन्त्री यादव प्रदेशसभामा प्रवेश गरेका छैनन्। विपक्षी दलका सांसदहरू भने बिहानै ८स्३० बजेबाट सभामा उपस्थित छन्, साथै एमालेका केही सांसदहरू समेत सभाहलमा पुगेका छन्।
मुख्यमन्त्री यादवले विश्वासको मत लिन २ बजे वातावरण मिलाइदिनु पर्ने भन्दै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए। तर, हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बिहान ८स्३० बजे बैठक राख्ने सहमति गरेको थियो।
यादवले विगतमा मुख्यमन्त्रीहरूले पठाएको पत्रअनुसारै विश्वासको मतका बैठक तोकिँदै आएको भए पनि यसपटक आफूले पठाएको पत्रअनुसार समय नतोकी विपक्षी दलहरूको दबाबमा बिहानै बैठक तोकिएको आरोप लगाए।
अन्ततः मुख्यमन्त्री यादवकै आग्रहअनुसार प्रदेश सभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उपसभामुख ईशरले जानकारी दिइन्।
























