काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका अगुवाहरूसँग भेटवार्ता भएको छ। सरकार र जेनजी अगुवाहरूबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा उनीहरूबीच छलफल भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए। सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए।
प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी थिइन्। ‘अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्। पर्सी आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ, हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो। कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन,’ निर्देशन दिँदै प्रधानमन्त्री भनिन्।
























