बारा । नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहका युवाबीच बुधबार भएको झडपपछि अशान्त बनेको बाराको सिमरा क्षेत्रमा आज फेरि कर्फ्यू लगाइएको छ।
बिहीबार बिहानदेखि नै युवाहरू सडकमा निस्किएर विरोध प्रदर्शन गरिरहेका छन्। बुधबार बेलुका प्रहरी प्रशासन र युवाबीच सहमति भएपछि सडक आवागमन सामान्य जस्तै देखिए पनि बिहानैदेखि प्रदर्शनकारीले बजार क्षेत्रमा नाराबाजी, टायर बाल्नेजस्ता गतिविधि तीव्र पारेका छन्।
जेनजी आन्दोलनका हाइज्याकर भनेर आरोप खेपिरहेका हामी नेपाल नामक एनजिओका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूको मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठाउने चेतावनी दिएका छन् ।
मध्यरातमा सामाजिक सञ्जालमा ‘द काउन्सिल अफ जेन–जी’ को व्यानरमा आफ्ना धारणा राख्दै गुरुङले हिजोको सिमरा घटना गृहमन्त्रीको लाचारीपनले भएको आरोप लगाएका छन् । ‘देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।’ स्टाटर्स लेख्दै आन्दोलनका लागि उक्साएका छन् । उनकै योजनाअनुसार हिजो मिलिसकेको विवाद आज व्यूँतिएको स्रोतको दावी छ ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। स्थिति नियन्त्रणका लागि प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
जेन–जी समूहले बुधबारको घटनामा आफूहरूमाथि कुटपिट गर्नेहरूलाई कारबाही गर्न माग राखेका छन्। उनीहरूले केही व्यक्तिविरुद्ध किटानी जाहेरीसमेत दिएका छन्।
बुधबार सिमरामा आयोजित एमालेको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेताहरूलाई रोक्न जेन–जी समूहका युवाहरू विमानस्थल क्षेत्रमा प्रदर्शनमा उत्रिएको थियो।

























