काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले गरेको पक्राउको विरोधमा नागरिक बचाउ दलले आजदेखि नै संघर्षका कार्यक्रम सुरु गर्ने जनाएको छ। दलले मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरेको भए पनि प्रसाईंको मध्यरातको गिरफ्तारीपछि आन्दोलन आजैबाट आरम्भ हुने नेताहरूले बताएका छन्।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आफ्ना नेता प्रसाईंलाई अपहरण शैलीमा मध्यराति पक्राउ गरेर सरकारले नै शान्ति भंग गरेको आरोप लगाएका छन् । त्यसैले मंसिर ७ सम्म नपर्खी आजैबाट देशव्यापी आन्दोलन सुरु गर्न लागिएको उनले बताए ।
प्रसाईंलाई सोमबार राति जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए। प्रसाईंले बैंक ऋण मिनाहा लगायतका मागसहित ७ मंसिरदेखि आन्दोलन सुरु गर्ने तयारी गर्दै आएका थिए। तर हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई फेरि मध्यरातमै प्रहरीले पक्राउ गरेको छ ।
गिरफ्तारीको विरोध स्वरूप पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयहरूमा ध्यानाकर्षणपत्र बुझाउने र त्यसपछि देशव्यापी प्रदर्शन सुरु गर्ने नागरिक बचाउ दलले जनाएको छ।
‘हामी दल दर्ता गरेर निर्वाचन प्रक्रियामा अघि बढिरहेका थियौं। हाम्रा सबै गतिविधि शान्तिपूर्ण थिए, तर सरकारले नै वातावरण बिगार्यो,’ महामन्त्री थाम्सुहाङले भने, ‘आजै सीडीओ कार्यालयमा ध्यानाकर्षण गराउँछौं।’
उनले प्रसाईंलाई तत्काल, निशर्त र सम्मानपूर्वक रिहाइ गर्न सरकारसमक्ष माग गर्दै चेतावनी दिए, ‘नत्र यो सरकारको अन्त्य हामी सडकबाटै गराउँछौं।’

























