ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हालसालै भएको जेनजी आन्दोलनका क्रममा दमकलदेखि अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग गरिने सवारीसाधनसम्म जलाइएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरको मुख्य दायित्व नगरवासीको सुरक्षा, व्यवस्थित दैनिक जीवन र आय–आर्जनमा सहयोग पुर्याउनु रहेको बताए। उनले भने, “ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीको संरक्षण गर्न र उहाँहरूको दैनिक जीवन सहज बनाउनु हो।”
उनका अनुसार जेनजी आन्दोलन भएको अवधिमा महानगरले आफ्नो दमकल सेवा काठमाडौँका धेरै संवेदनशील स्थानमा पठाएको थियो। सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, हिल्टन होटल लगायतका स्थानमा ७९ पटक दमकल परिचालन गरिएको उनले जानकारी दिए।
महर्जनले प्रयोगमा ल्याइने दमकल अत्याधुनिक फोम सिस्टमयुक्त भएकाले तत्काल आगो नियन्त्रणमा लिन मद्दत गर्ने बताए। तर, आन्दोलनका क्रममा आगो निभाउन आएका ती दमकलहरूलाई नै आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेको आरोप उनले लगाए। मन्त्रीक्वार्टर क्षेत्रमा लागेको आगो निभाउन गएका दमकललाई समेत अवरोध गरिएको उनको भनाइ छ।
उनले भने, “अग्नि नियन्त्रण गर्न पुगेका हाम्रो दमकललाई नै जलाइयो। अपाङ्गता भएका व्यक्तिहरूका लागि नयाँ खरिद गरिएको गाडीसमेत आगजनी गरियो।”
लगातारका क्षति र चुनौतीका बीच महानगरले सेवा–सुविधा प्रभावकारी बनाउन अझै आधुनिक दमकल आवश्यक रहेको बताउँदै, दुईवटा नयाँ अत्याधुनिक दमकल खरिद गर्ने निर्णय भइसकेको जानकारी मेयर महर्जनले दिए।
उनका अनुसार नगरवासीको सुरक्षा र अत्यावश्यक सेवामा कुनै अवरोध नआओस् भनेर महानगरले आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।
























