
काठमाडौँ । नियमित महाधिवेशनको मिति सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले आइतबार नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।
युवाहरूले पार्टीको मूल गेटमा ताला झुण्ड्याउँदै पार्टी नेतृत्वको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गरेका हुन् । उनीहरूले पार्टीको नियमित महाधिवेशन छिटो गर्नुपर्ने र त्यसमा युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग अघि सारेका छन् ।
पार्टी “अनिर्णयको बन्दी” बनेको भन्दै तालाबन्दीपछि विरोध प्रदर्शन गर्ने युवाहरु शेखर कोइराला समूहका कार्यकर्ता रहेको बताइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २८ असोजदेखि पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बोलाइएको बैठक नबसी आजका लागि सारिएको थियो । तर आजको बैठक पनि फेरि स्थगित भएसँगै असन्तुष्ट युवाहरूले कार्यालयमा ताला लगाएको विद्यार्थी नेताले जानकारी दिए ।
























