नवलपुर । लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भागमा आवागमन अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको दाउन्ने खण्ड आज बिहानदेखि परेको वर्षाका कारण हिलो र चिप्लो बनेपछि बन्द हुन पुगेको हो।
उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलाको आसपासको क्षेत्रमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। “लगातारको वर्षाले बाटो हिलो र चिप्लो भएकोले सवारीसाधनहरू पश्चिमतर्फ जान सकेका छैनन्,” नेपालले भने, “मालवाहक सवारीसाधनहरू उकालो चढ्न नसक्दा जाम हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ।”
हाल नेपालमा बंगालको खाडी र अरब सागरमा विकसित दुई चक्रवातीय प्रणालीको संयुक्त प्रभाव परिरहेको मौसमविद्हरूले जनाएका छन्। खाडीबाट पूर्वतर्फ र अरब सागरबाट पश्चिमतर्फ आएको वर्षा प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान अनुसार कोशी र मधेश प्रदेशका केही स्थानमा आज र भोलि (शुक्रबार) भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
























