काठमाडौं । जेनजी आन्दोलनका नाममा बालकोट निवास जलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा ‘ओली कुटी’ बन्ने भएको छ ।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमै अध्यक्ष ओलीका लागि ‘ओली कुटी’ निर्माणको संकल्प गरिएको बताएका हुन्।
बस्नेतलले भक्तपुरका स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएको बताए। उनले आफू संयोजकको भूमिकामा रहने जानकारी दिए । उनले ‘ओलीकुटी कस्तो देखिन सक्छ?’ भनेर प्रश्न गर्दै अहिले नै फोटो संकलन सुरु भइसकेको जानकारी दिए। बस्नेतले यसका लागि देशभरबाट सुझाव र समर्थन बढिरहेको बताए ।
निवर्तमान प्रधानमन्त्री ओली संविधान दिवसका दिन भक्तपुरको गुण्डुमा भाडाका घरमा बसाइँ सरेका छन् । जेनजी आन्दोलनकारीले जलाइदिएको घर हेर्न बुधबार बालकोट पुगेका ओलीले पनि जलाइदिएको घर मर्मत नगरिने बताएका थिए। ओलीले बालकोट निवास आफ्नो निधनपश्चात संग्राहालयका रुपमा राज्यलाई दिने गरी पास भइसकेको स्मरण गराए ।
उनले बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर बनाएको बताए ।
अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका थिए। ओलीले जेनजीको आन्दोलनको नाममा गलत तत्त्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे। सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू आपराधिक समूह नै भएपनि सरकारले उनीहरूलाई कारबाही गर्न नसकेको दाबी गरे ।
ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि खण्डहर बनेको घर अवलोकन गर्दै नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोड्ने सपना राखेको बताएकी थिइन्। तर अब त्यो सपना खरानीमा परिणत भएको उनको गुनासो थियो ।

























