महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।
दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा उहाँको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगे तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन् । केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेको जोशी परिवारको भनाइ छ ।
सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पु-याइएको थियो । उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका थिए । विपिनको अन्तिम दाहसंस्कार आज महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने छ ।
इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।






















