काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो। सेनाको अनुसार २३ गतेको आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको हो।
सेनाका अनुसार बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन्। यिनीहरू भने भदौ २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका हुन्। सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान खुल्न सकेको छैन।
आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान,१९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ। आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन : नियन्त्रणमा लिइसकेको छ ।

























