काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शन र त्यसपछिका घटनाले देशलाई ‘अकल्पनीय क्षति’ बेहोर्न बाध्य बनाएको बताएका छन् ।
शुक्रबार ७०औं प्रहरी दिवस २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै आईजीपी खापुङले नेपाल प्रहरी आज नागरिकको प्रेम र आक्रोश दुबैको प्रत्यक्ष सामना गर्न सक्ने संस्थाको रुपमा स्थापित भएको उल्लेख गरे।
उनले हालको राजनीतिक संक्रमण र सम्भावित चुनौतीबीच पनि नेपाल प्रहरीले आम नागरिकलाई शान्ति, सुरक्षा र भरोसा प्रदान गर्दै आएको दाबी गरे। ‘नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम र प्रतिवद्ध संस्था हो, खापुङले भने, ‘राज्यको अग्र पंक्तिमा खटिने संगठनका रूपमा हामी नागरिकको सुरक्षामा समर्पित छौं ।’
उनका अनुसार देशभरका ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग छ भने ४०० भन्दा बढी इकाइमा स्तरोन्नतिको आवश्यकता रहेको छ। यस आवश्यकतालाई पूरा गर्न २५ हजारभन्दा बढी नयाँ जनशक्तिको खाँचो रहेको उनले बताए ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सदस्यका साथै अन्यले ज्यान गुमाएको प्रसंगमा दुःख व्यक्त गर्दै उनले दिवंगत आत्माहरुको चीरशान्तिको कामना पनि गरे । ूत्यो आन्दोलन र त्यसपछिका घटनाले देशलाई गम्भीर असर पुर्याएको छ,ू उनले भने ।
























