काठमाडौं । हमासद्वारा २०२३ अक्टोबर ७ मा कब्जामा परेका नेपाली युवा विपिन जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको इजरायल सरकारले जानकारी गराएको छ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेनाले आज रिहा गर्न लागिएको जीवित बन्दकहरूको सूचीमा विपिनको नाम नरहेको र हालसम्म उनी जीवित रहेको पुष्टि गर्ने कुनै पनि तथ्य भेटिएको छैन।
‘आज २–३ घण्टामा केही जीवित बन्दकहरूलाई रिहा गरिँदै छ,’ पण्डितले भने, ‘छोड्ने सूची हमासले इजरायल सरकारलाई दिएको हो। त्यस सूची हेर्दा विपिनबारे कुनै जानकारी थिएन। इजरायली सेनाले हामीलाई भनेको हो कि विपिन जीवित नरहेको जानकारी हमासबाट आएको हो।’
पण्डितका अनुसार, इजरायली सेनाले विपिनको ठुलाबुवाको छोरा किशोरलाई सम्पर्क गरेर जानकारी दिएको थियो। अमेरिकामा रहेकी विपिनकी दिदी पुष्पा र काठमाडौँस्थित राजदूत, पण्डित स्वयं पनि इजरायली अधिकारीहरूसँग नियमित सम्पर्कमा छन्। ‘यदि कुनै चमत्कार भयो भने तुरुन्तै जानकारी गराइनेछ, तर अहिलेको अवस्थासम्म उनी जीवित रहेको कुनै प्रमाण छैन,’ पण्डितले भने।
यस्तै, आज केही मृतकको शव पनि हस्तान्तरण गर्ने तयारीमा इजरायली पक्ष रहेको तर तीमध्ये पनि विपिनको शव नभेटिएको जानकारी पण्डितले दिए। ‘कतिपय मृतकको शव अझै फेला परेका छैनन्, त्यसको खोजी कार्य पनि जारी छ,’ उनले थपे।
विपिन जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुज आलुमिमबाट कब्जा गरेको थियो। त्यसयता उनीबारे निश्चित जानकारी आउन सकेको छैन।

























