काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद् पुनःस्थापनाको माग कायम राख्ने निर्णय गर्दै सम्भावित निर्वाचनका लागि पनि तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा सहभागी नेताहरूले संविधानबाहिर बनेको वर्तमान सरकारप्रति शंका जनाए पनि जनतामा जाने विकल्पलाई नकार्न नहुने धारणा राखेका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा नेताहरूले संसद् पुनःस्थापना र चुनाव दुबै विकल्प खुला राख्नुपर्ने सुझाव दिएको जानकारी दिए । “संवैधानिक व्यवस्था अनुसार यो सरकार बनेको होइन, तर निर्वाचनको मिति तोकिएको छ । कांग्रेस जनताको पार्टी हो, त्यसैले जनतामा जाने कुरा नकार्न सकिन्न,” उनले भने ।
तर सरकारले निष्पक्ष र विश्वासिलो चुनावी वातावरण बनाउन तत्परता नदेखाएको भन्दै महतले चिन्ता व्यक्त गरे। “चुनाव गराउँछ कि गर्दैन, त्यो हेर्न बाँकी छ । संसद् पुनःस्थापनाको बाटो खुला राख्न जरुरी छ,” उनले थपे ।
बैठक आगामी असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बोलाइएको हो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बैठकले निर्वाचन, पार्टी महाधिवेशन लगायतका एजेन्डा तय गरेको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्तावसहित तालिका ल्याउने तयारी गरिरहेका छन् । उनीहरूको नेतृत्वमा विशेष महाधिवेशनको मागसहित झण्डै ५० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको जनाइएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार बैठकमा बिहीबार १२ जना र शुक्रबार १३ जना नेताहरूले आफ्नो धारणा राखेका छन्।

























