काठमाडौं । फिलिपिन्सको दक्षिणपूर्वी समुद्री क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अन्तराष्ट्यि सञ्चारमाध्यमका अनुसार भूकम्प मिन्डानाओ टापुको राजधानी डावाओबाट करिब १२३ किलोमिटर टाढा पूर्वी क्षेत्रमा ५८.१ किलोमिटर गहिराईमा गएको थियो। अहिलेसम्म कुनै ठूलो क्षतिको खबर प्राप्त भएको छैन।
फिलिपिन्सको भोल्केनोलोजी तथा सिस्मोलोजी संस्थानले चेतावनी दिँदै भनेको छ, “हानिकारक सुनामी आउन सक्ने सम्भावना छ, जसका लहरहरूले जीवन जोखिममा पार्न सक्छ।” यसका कारण पूर्वी तथा दक्षिणी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
अमेरिकी सुनामी चेतावनी प्रणालीले फिलिपिन्सका केही क्षेत्रहरूमा १–३ मिटर लहर आउन सक्ने अनुमान गरेको छ। त्यस्तै, इन्डोनेसिया र पलाऊका तटीय क्षेत्रहरूमा ३० सेन्टिमिटरदेखि १ मिटरसम्म लहर देखिन सक्ने चेतावनी जारी गरिएको छ।
फिलिपिन्स “रिङ अफ फायर” नामक भूकम्पीय क्षेत्रभित्र पर्दछ, जहाँ प्रशान्त महासागर वरिपरि करिब २५,००० माइल लामो भूकम्पीय लाइनहरू रहेका छन्। यस क्षेत्रमा विश्वका आधाभन्दा बढी ज्वालामुखी रहेका छन् र नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्छ ।

























