जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टीका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार, आज (बुधबार) साँझ ४ बजे प्रदेश प्रमुखलाई समर्थन फिर्ताको पत्र बुझाइनेछ।
मुख्यमन्त्री सतीशकुमार सिंहले भदौ २४ गते फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका थिए, तर पछि संसद् सामना गर्ने अडानमा उभिँदा सत्ता समीकरणमा फेरबदलको क्रम सुरु भएको हो।
यसअघि जनमत पार्टीले पनि आफ्ना सांसदको निर्देशन नटेरेको भन्दै भदौ ३१ गते सरकारबाट समर्थन फिर्ता लिइसकेको छ। त्यसअघि नेपाली कांग्रेसले पनि साथ छोडिसकेको छ।
नयाँ सरकारको सम्भावना
२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमत पार्टीका सतीशकुमार सिंह मुख्यमन्त्री बनेका थिए। तर अहिले परिस्थिति बदलिँदै छ।
नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भएको छ। यसका लागि एमाले, कांग्रेस, जनमत र लोसपा बीच आन्तरिक सहमति बनिसकेको एमाले स्रोतको दाबी छ।
























