काठमाडौं । भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनेर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ ।
काठमाडौंबाट ८३ यात्रु लिएर ‘आरए १७३१’ उडान नम्बरको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थतर्फ गएको हो । त्यहाँबाट १५१ यात्रु लिएर काठमाडौं आउनेछ । यद्यपि, यात्रु संख्या केही तलमाथि हुन सक्ने निगमले जनाएको छ ।
निगमले सोमबार (असोज २०) दिउँसो २ः४५ बजे काठमाडौं उडानको तालिका बनाएको थियो । तर, निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याउन लागिएको हो ।
वायुसेवा निगमले देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ ।
उक्त उडानमा काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार रुपैयाँ भाडादर तोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रूपमा उडान सञ्चालन भइरहेको जानकारी दिए ।
उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, भैरहवामा उल्लेख्य संख्याका यात्रु उडानको प्रतीक्षामा छन् । “विमानस्थलमा धेरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पुर्याउन विमानस्थल लागिपरेको छ,” महाप्रबन्धक तिवारीले भने । (रासस)

























