काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ ।
अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मौसमविद् प्रतिमा मानन्धरले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिँदै शनिबार र आइतबार मुुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा सोमबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने जानकारी दिइन् । “हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ,” उनले भनिन् । (रासस)

























