काठमाडौं । सरकारले आज (बुधबार) असोज १ गते शोक बिदा दिएको छ । ‘जेन-जी’ आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार आज शोक बिदा दिइएको हो । सबै शहीदहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख र अन्य खर्चबापत पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
घाइतेहरूको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकप्टर वा सवारीसाधन उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै, आन्दोलनका क्रममा निधन भएकाहरूको स्मरणमा ‘जेन-जी’ जागरण स्मरण पार्क निर्माण गर्ने निर्णय भएको छ ।
यसैबीच जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोष्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरूको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । शव यात्रामा गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति थियो । मन्त्रीद्वयले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
२३ र २४ भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने दुई हजार ३१६ जना घाइते भएका थिए । जसमध्ये देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू उपचाररत छन् । अन्य भने निको भएर घर फर्किसकेका छन् ।

























