काठमाडौं । भारतको हिमाञ्चल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई नजिक भएको गम्भीर सवारी दुर्घटनामा चार नेपालीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेहरू सल्यान जिल्लाको कुमाख गाउँपालिका–४ का हुन् । मृतकमध्ये ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीमध्ये तीन जना एउटै परिवारका सदस्य हुन् ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार पिकअप जिपका चालकले सवारीमाथि नियन्त्रण गुमाउँदा गाडी भीरमा खसेको थियो । घाइते अवस्थामा अस्पताल पुर्याइएको लक्ष्मी मल्ल शाही र डिल्लीबहादुर शाहीको उपचारकै क्रममा मृत्यु भएको हो ।
घाइते भएका दुई जनालाई उपचारपछि कोटखाईस्थित स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार, दुर्घटनापछि भारतीय दण्ड संहिताको धारा १०६ अन्तर्गत लापरवाहीका कारण मृत्यु हुने मुद्दा दर्ता गरी अनुसन्धान थालिएको कोटखाई क्षेत्रका डीएसपी सिद्धार्थ शर्माले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएका नेपाली नागरिकका शव पोस्टमार्टमका लागि पठाइएको छ भने पीडित परिवारलाई खबर गरिएको भारतीय प्रहरीले जनाएको छ।
यस घटनाप्रति हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले गहिरो दु:ख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता जनाएका छन् ।
त्यसैगरी, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनामा शोक प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

























