काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गए पछि विमानस्थल बन्द गरिएको हो ।
आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।
देशभर फैलिएको हिंसात्मक प्रदर्शन बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित भएको हो ।
आन्तरिक उडानमा बिहानैदेखि यात्रु नहुँदा उडान बन्द प्रायः थियो भने अन्तर्राष्ट्रिय जहाजले अवतरण गर्न नमान्दा विमानस्थल बन्द भएको बताइएको छ । विदेशबाट आउने जहाज अवतरण नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न मुलुकका लागि हुने उडान पनि प्रभावित भएको हो ।
काठमाडौंको हिंसा भड्किएका कारण विभिन्न मुलुकबाट काठमाडौं आइरहेका जहाज भारतका विभिन्न विमानस्थलमा अवतरण भएका छन् । कतिपय विमान जहाँबाट आउँदै थिए, त्यतै फर्किएका छन् ।




















