काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा. डा. गोविन्द केसीले २३ औँ सत्याग्रह सुरु गरेका छन्। उनले धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफ्नो सत्याग्रहको घोषणा गरेका हुन् ।
सरकारले एमबीबीएस कार्यक्रमअन्तर्गत निजी मेडिकल कलेजहरूको सिट संख्या वृद्धि गरेकोप्रति असन्तुष्टि जनाउँदै डा. केसीले सत्याग्रह सुरु गरेका हुन्। उनले चार बुँदे माग अघि सारेका छन्, जसमा चिकित्सा शिक्षाको सुधारदेखि भू–अधिकार र अन्तर्राष्ट्रिय शान्तिसम्बन्धी विषय समेत समेटिएका छन्।
डा. केसीले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिका लागि मापदण्ड तय गर्नुपर्ने माग गरेका छन्। साथै, उनले लिपुलेक क्षेत्रमा भारतद्वारा गरिएको अतिक्रमण अन्त्य गरी जमिन फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय सन्दर्भमा, डा. केसीले युक्रेन र गाजामा जारी हिंसा रोक्न रुस र इजरायललाई आह्वान गरेका छन्।
डा केसीका यस्ता छन् माग :
१. प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढंगले निजि मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्न।
२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पुरा गर्न।
३.लिपुलेखमा अतिक्रमण बन्द गरि नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता
गर्न नेपाल सरकारसँग माग गरिन्छ।
४.युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरिन्छ।

























