पर्सा । हैजाको प्रकोप फैलिँदै गएपछि पर्साको वीरगन्ज क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था आइतबार र सोमबार दुई दिनका लागि बन्द गरिएको छ। वीरगन्ज महानगरपालिकाले समुदायस्तरमै संक्रमण फैलिएको भन्दै यस्तो निर्णय लिएको हो ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द रहने जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार हालसम्म ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने हैजासँग मिल्दोजुल्दो लक्षण देखिएका १२९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुई जनाको मृत्यु पनि भइसकेको छ, जसमा पोखरिया नगरपालिका–९ की एक महिला र वीरगन्ज महानगरपालिका–१२ का एक पुरुष छन्। यद्यपि, उनीहरूको मृत्यु हैजाकै कारण भएको पुष्टि भइसकेको छैन।
संक्रमण विशेषगरी वडा नम्बर ११, १२, १३ र १६ मा बढी देखिएको छ। संक्रमितहरूमा झाडापखाला, वान्ता, पेट दुखाइ, आँखा गाडिनु, मांशपेशी दुख्ने, र ज्वरो आउने लक्षण देखिएको जनाइएको छ।
महानगरपालिकाले प्रभावित क्षेत्रहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। साथै, ११ स्थानको पानीको नमुना परीक्षणका लागि टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।
हैजाको संक्रमण फैलिन नदिन विभिन्न निकायहरूको सहकार्यमा जनचेतनामूलक अभियान र सामग्री व्यवस्थापनका कामहरू भइरहेको महानगरले जनाएको छ।

























