काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताप्रति सबैभन्दा ठूलो चुनौती संघ सरकार आफैं भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश संघीय प्रणालीमा गइसके पनि संघ सरकारले अझै संघीयताको मर्म आत्मसात गर्न नसकेको टिप्पणी गरे । “संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ हो,” उनले भने, “संघीयतामा हामी गइसक्यौँ, तर संघ आफैं अझै संघीय ढाँचामा प्रवेश गर्न सकेको छैन । केन्द्र सरकारमै त्यो सोच पुगेको छैन ।”
थापाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखिसकेको उल्लेख गर्दै अब कुनै बहाना नचल्ने स्पष्ट पारे । “संविधान संशोधनमा अब संख्या या जोखिमको कुरा उठाउनुहुन्न । जोखिम उठाउने मुख्य दलहरूले नै बहस अघि बढाउनुपर्छ,” उनले भने ।
संविधान संशोधन सन्दर्भमा केही ठोस प्रस्तावहरू अघि सार्दै थापाले उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एउटै बनाउने, विभिन्न आयोगहरू राष्ट्रिय मानव अधिकार आयोगअन्तर्गत राख्ने, र जिल्ला समन्वय समिति खारेज गर्नुपर्नेबारेसमेत आवाज उठाए ।
महामन्त्री थापाले संसद् अझ समावेशी बनाउने र पाँच वर्षसम्म एउटै राजनीतिक दलले स्थिर सरकार सञ्चालन गर्ने वातावरण निर्माणका लागि गम्भीर छलफल आवश्यक रहेकोमा पनि जोड दिए ।

























