काठमाडौं, साउन २८ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ। आयोगले नाउपाले पठाएको पदाधिकारी हेरफेर सम्बन्धी विवरणलाई प्रक्रियासम्मत नभएको भन्दै पुरानै अभिलेखलाई निरन्तरता दिने निर्णय गरेको हो।
पार्टीका केही सदस्यले काठमाडौंमा साउन १४ र १५ गते राष्ट्रिय भेला गरी रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्ष तोकेको दाबी गरेका थिए। सोही निर्णयअनुसार नाउपाले निर्वाचन आयोगलाई अध्यक्ष परिवर्तन भएको जानकारीसहित अभिलेख अद्यावधिक गर्न पत्राचार गरेको थियो।
तर, निर्वाचन आयोगले उक्त प्रक्रिया पार्टीको विधानअनुसार नभएको ठहर गर्दै लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको छ। यस निर्णयसँगै अब नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहने भएकी छिन्।
























