काठमाडौं, साउन १९ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)माथि झूटो प्रचार र संसद् बहिष्कारको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले दुवै पार्टीलाई यथार्थविरुद्धको अभिव्यक्ति नदिन आग्रह गर्दै गम्भीर चेतावनीसमेत दिए।
“७० दिनभन्दा बढी भयो—उनीहरू आफ्ना कुरा राखेर बैठक बहिष्कार गर्दै हिँडिरहेका छन्,” घिमिरेले भने, “सरकार र संसद् दुबैले उनीहरूको ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिएका छन्। अब कति दिनसम्म यस्तो चल्छ?”
उनले रास्वपा र राप्रपाले ‘भिजिट भिसाको नाममा मानव तस्करी गरिएको’ भन्ने जस्ता आरोपमार्फत संसद् र जनतालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाए।
“भिजिट भिसा भनेकै मानव तस्करी हो ? बाहिर भिजिट भिसामा नगएका सांसद को छन् यहाँ?” भन्दै उनले प्रश्न गरे। “गोयबल्स शैलीमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसद्को दुरुपयोग गर्ने काम अब रोक्नुपर्छ,” घिमिरेले तीव्र आपत्ति जनाए।
उनले यस्तो व्यवहारले संसद्को गरिमा कमजोर बनाएको भन्दै रास्वपा–राप्रपाको शैलीप्रति कांग्रेस प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी पनि दिए।

























