काठमाडौं, साउन १९ । खोटाङमा आज बिहान भएको एक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ फर्किँदै गरेका यात्रु सवार प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस जयराम–हलेसी सडकखण्डको कदुवा नजिक डौँठेखोलामा सोमबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो।
माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनास्थल वरपर बुट्यान र झाडी भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष तथा प्रवक्ता कमल गिरीले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबै यात्रुलाई उद्धार गरी उपचारका लागि घुर्मीस्थित जनसेवा पोलिक्लिनिक र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ। गम्भीर घाइते ६ जनालाई काठमाडौँ ट्रमा सेन्टर पठाइएको हो भने अन्य ८ जनाको अवस्था सामान्य हुँदै गएको जनसेवा पोलिक्लिनिकका स्वास्थ्यकर्मीहरूले बताएका छन्।
घटनास्थलमा खटिएका प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतीक विष्टले जानकारी दिए।
दुर्घटनामा परेका सबै यात्रुहरू साउन महिनामा हलेसीमा लाग्ने ‘बोलबम मेला’ भरेर फर्कंदै थिए। हलेसी हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिक तीर्थस्थल हो। साउन महिनाभर लाग्ने मेलामा देशभरबाट दर्शनार्थी आउने गर्छन्, जसका लागि निजी वा भाडाका सवारीसाधन प्रयोग गरिन्छ।
दुर्घटनाको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन। प्रहरीले घटनाको अनुसन्धान र विवरण सङ्कलनको काम जारी राखेको छ।

























