काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रअन्तर्गत केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या लोडसेडिङ नभई प्राविधिक कारणले भएको स्पष्ट पारेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा ट्रान्सफर्मरको मर्मत र लाइनमा अतिरिक्त लोडका कारण अस्थायी रूपमा विद्युत् अवरुद्ध भएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने उल्लेख गरिएको छ ।
प्राधिकरणका अनुसार सामाजिक सञ्जालमा फैलाइएको ‘लोडसेडिङ तालिका’ सम्बन्धी सूचना भ्रामक र अतिरञ्जित छन् । चनौली ३३/११ के.भी. सबस्टेसन र भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड भएपछि विद्युत् आपूर्तिमा समस्या देखिएको हो ।
दीर्घकालीन समाधानका लागि बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौलीसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यसले समस्या समाधानमा सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।
हालको वर्षायाममा अपेक्षाभन्दा कम वर्षा भएकाले सिँचाइका लागि विद्युत् माग अत्यधिक बढेको र यसले ट्रान्सफर्मर तथा लाइनहरूमा अतिरिक्त भार सिर्जना गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । प्राविधिक समस्या समाधान गर्न प्राविधिक टोली २४ सै घण्टा खटिएको जानकारी दिइएको छ ।
प्राधिकरणले लोडसेडिङ नेपालका लागि इतिहास बनिसकेको भन्दै भ्रम फैलाउने गतिविधिबाट उपभोक्तामा अन्योल उत्पन्न नहोस् भन्ने उद्देश्यले सचेतना जारी गरिएको बताएको छ ।
चनौली वितरण क्षेत्रमा देखिएको समस्या दुईदेखि तीन दिनभित्र समाधान गरी नियमित आपूर्ति सुनिश्चित गरिने प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।

























