
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई ‘मिशन ८४’ मा एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।
सोमबार च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई तोडफोड गर्न खोज्ने तत्वहरू सक्रिय भइरहेका भन्दै त्यस्ता गतिविधिबाट सावधान रहन आह्वान गरे ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले भने, “पार्टी विभाजन गर्ने, कमजोर पार्ने प्रयास भइरहेका छन् । यस्ता विभाजनकारी तत्वबाट जोगिएर सम्पूर्ण पार्टी पंक्ति एकढिक्का भएर अघि बढ्नुपर्छ ।”
ओलीले पार्टी सदस्यता उल्लेखनीय रूपमा वृद्धि भएको उल्लेख गर्दै एमाले अब संगठनात्मक रूपमा थप मजबुत बनेको बताए ।
‘यो पार्टी रुपान्तरणको निम्ति, जनताको निम्ति बनेकाले सानातिना अन्तरविरोधमा नफस्न केन्द्रीय कमिटीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै गौतमले जानकारी दिए ।
उनले हिजो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष ओलीको भेटवार्ताका क्रममा धेरै कुरा खुला र स्पष्ट ढंगबाट भएको पनि जानकारी गराएका छन् ।
‘नेपालको राष्ट्रिय राजनीतिक कसरी अघि बढेको छ, नेकपा एमाले कसरी निशाना बनिरहेको छ, नेकपा एमालेलाई विभाजित गर्ने तत्व कसरी सलबलाइरहेका छन् । त्यसपछि विधान अधिवेशनको तयारीका बारेमा खुला छलफल गर्नुभएको छ । हाम्रा बीचमा कुनै मतभेद छैन भन्नुभएको छ,’ गौतमले जानकारी गराए ।
वैठकमा अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत एकता कायम रहेको उल्लेख गर्दै भने, “विरोधीहरूले विचार र काममा प्रतिस्पर्धा गर्न नसकेपछि झुटा आरोपको सहारा लिन्छन् । एमालेलाई कमजोर देखाउन अनेक षड्यन्त्र गरिन्छ । तर हामीले यस्ता चुनौतीहरू विगतमा पनि सामना गरेका थियौँ, अब पनि गर्छौं ।”
बैठकमा अध्यक्ष ओलीले नेताहरूलाई आफूले राख्न चाहेको धारणा खुलस्त रूपमा राख्न पनि आग्रह गरेका छन् ।
विधान महाधिवेशन र संगठनात्मक प्रतिवेदनमाथि छलफल
च्यासल बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा आसन्न विधान महाधिवेशनका व्यवस्थापकीय तयारीबारे पनि विस्तृत छलफल हुने जनाएको छ ।

























