काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन वैदेशिक रोजगार विभागले पछिल्लो समय उल्लेख्य सुधारात्मक कार्यहरू अगाडि सारेको छ । विभागले वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकलाई सहज र सुरक्षित सेवा दिने उद्देश्यले विभिन्न कदमहरू चालेको छ ।
विभागका अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत तर्फ १११ देश खुल्ला गरिए पनि हाल १०३ र व्यक्तिगत तर्फ १८५ देश खुल्ला गरिएकोमा हाल १७४ देशमा नेपाली श्रमिकले श्रम स्वीकृति लिई जान सक्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको आजसम्ममा मात्र ७ लाख ७८ हजार ३ सय ७८ जनाले वैदेशिक श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृतिका प्रक्रियामा सहजता ल्याउने उद्देश्यले विभागले अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाएको छ । अब श्रमिकले अनलाइन आवेदन दिएको सोही दिनभित्रै श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। संस्थागत तर्फ इजाजतप्राप्त संस्थाहरूको पूर्व श्रम स्वीकृति समेत कार्यालय समयमै दिने प्रणाली लागू गरिएको विभागले जनाएको छ ।
त्यस्तै वैदेशिक रोजगारीका नाममा ठगीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएका थुनुवाहरुलाई न्यायिक प्रक्रिया अघि बढाउने क्रममा वैदेशिक रोजगार न्यायधिकरण मा लैजान ल्याउन आवश्यक सवारी साधन अभाव हुँदा अर्थ मन्त्रालयसँग समन्वय गरी छुट्टै सवारी साधनको व्यवस्था समेत गरिएको विभागले जनाएको छ ।
ठगी नियन्त्रण र पीडित उद्धारलाई थप प्रभावकारी बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरी तत्काल प्रतिक्रिया दिने व्यवस्था लागू गरिएको छ। साथै, विभागको परिसरलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गरिएको छ।
विभागको आन्तरिक प्रशासनमा समेत सुधार गर्दै कर्मचारीहरूको सेवा प्रवाहमा अनुशासन र समयपालन अनिवार्य बनाइएको छ । मुद्दा शाखालाई आधुनिक पूर्वाधारसहित सुदृढ बनाउँदै गुनासो र उजुरी छिटो टुंग्याउन राजपत्रांकित अधिकृतहरूलाई अनुसन्धान अधिकृतका रूपमा तोकिएको विभागले जनाएको छ ।
इजरायल तथा इपिएस (कोरिया) शाखाको नियमित अनुगमनमार्फत परिणाममुखी कार्य सम्पादनमा जोड दिइएको विभागले जनाएको छ ।
साथै, कार्यालयको सरसफाई र सेवा प्रवाहमा व्यावसायिकता अभिवृद्धि गरिएको विभागको दावी छ ।

























