झापा । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले झापाका चार विद्यालयका ४० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । साथै, उनले एक हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग र खेलकुदका सामग्रीहरू पनि वितरण गरेका छन् ।
राजदूत सोङले बिर्तामोड नगरपालिका–८ मा रहेको शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड–९ मा रहेको दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६ मा रहेको शनिश्चरे माध्यमिक विद्यालयका प्रत्येक १० जना विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन् । यो सहयोग हिजो र आज आयोजित कार्यक्रमहरूमा गरिएको थियो। यसका साथै, शनिश्चरे माविका ६०० र दुर्गा माविका ४०० विद्यार्थीलाई १९ प्रकारका शैक्षिक सामग्रीहरू पनि वितरण गरिएको छ ।
राजदूत सोङले चिनियाँ दूतावासको रु ५० हजारको सहयोगमा निर्माण भएको शुक्रराज आधारभूत विद्यालयको चार कोठे दुई तले भवनको उद्घाटन पनि गरे । यस अवसरमा उनले चीनको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा पनि नेपालको शिक्षा क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले सन् २०१५ को भूकम्पपछि चीनले नेपालका विभिन्न १० वटा विद्यालय भवन निर्माणमा सहयोग गरेको पनि स्मरण गराए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको पूर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दूतावासले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरिन् । उनले आजै दूतावासको सहयोगमा बन्न लागेको देवकोटा आधारभूत विद्यालय भवनको शिलान्यास पनि गरिन् ।
राजदूत सोङले बिर्तामोडका दुई माछा फार्म र अर्जुनधाराका दुई गाई फार्ममा परीक्षणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । यसैगरी, उनले अर्जुनधारा र बिर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामग्री र सुपारीको पातबाट निर्माण गरिने दुनाटपरी उद्योगको अवलोकन गर्दै ती उत्पादनहरूलाई चीनमा बजारीकरण गर्न सहयोग गर्ने आश्वासन पनि दिए ।