काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसुफ अब्देलघानीबीच मंगलबार साँझ शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुवै पक्षले नेपाल–जोर्डन सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री भण्डारीले १९६५ मा स्थापना भएको कूटनीतिक सम्बन्धदेखि नै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहेको स्मरण गर्दै राजदूत घानीको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे।
उहाँले हालको सीमित व्यापार र व्यापार घाटालाई सम्बोधन गर्दै कृषिजन्य वस्तुहरूको निर्यात र जोर्डनबाट मल आयात जस्ता सम्भावित सहकार्यका क्षेत्रमा जोड दिनु आवश्यक भएको बताए । साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नत हुँदै गर्दा लगानीमैत्री वातावरण निर्माण गर्न नेपाल सरकारले नीतिगत, कानुनी र प्रक्रियागत सुधार गरेको जानकारी गराउँदै जोर्डनलाई नेपालमा लगानी गर्न आग्रह गरे।
भेटका क्रममा मन्त्री भण्डारीले हालै सम्पन्न सगरमाथा संवादको सन्दर्भ उल्लेख गर्दै साझा वैश्विक सम्पदाको संरक्षणका लागि नेपाल–जोर्डन सहकार्य आवश्यक रहेको बताए।
राजदूत घानीले नेपाल र जोर्डनबीच समानता रहेको बताउँदै आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध मजबुत बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले व्यापारिक, सांस्कृतिक तथा सरकारी तहका भ्रमण आदानप्रदान, संयुक्त व्यापार तथा लगानी प्रवर्द्धन समिति गठनको आवश्यकता औंल्याए। साथै, निर्माण र तयारी पोशाकजस्ता क्षेत्रमा जोर्डनको श्रम बजार नेपालका लागि उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए।
भेटवार्तामा दुवै पक्षले सम्बन्ध सुदृढ गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। अन्त्यमा मन्त्री भण्डारीले द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा राजदूत घानीको सक्रिय भूमिका हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए।