काठमाडौं । कतार एक सानो तर धनी खाडी मुलुक, जसले खाडी क्षेत्र र विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छ । विशेष गरेर २०२२ मा फिफा वल्र्डकप पछि कतार अझ उदयमान हुनुको साथै विश्वसामु एउटा छुट्टै छाप छोड्न सफल भएको मुलुक हो ।
कतार एक सम्वैधानिक राजतन्त्र भएको मुलुक भएता पनि धेरैजसो कार्यकारी शक्ति राजामा केन्द्रित छ । कतारमा वहुदलीय प्रजातन्त्रको अभ्यास छैन । सन् २०१७ देखि ०२१ सम्म कतारले साउदी अरव, युएई, वहराइन र इजिप्टबाट राजनीतिक र आर्थिक नाकाबन्दी भोग्नु परेको थियो । यस देशको अल जजिरा विश्व प्रसिद्ध समाचार संस्था हो ।
कतार सानो भए पनि यो रणनीतिक रुपमा महत्वपूर्ण मुलुक हो । यसको तेल र ग्यासको भण्डार, कूटनीतिक सक्रियता र मिडिया प्रभावका कारण भौगोलिक रुपमा सानो भएपनि यसको विश्व राजनीतिमा ठूलो प्रभाव छ ।
नेपाली युवाहरु कामदारका रुपमा जाने खाडी मुलुकहरु मध्येको कतार एउटा प्रमुख गन्तव्य हो । हालसम्म लगभग ४ लाख जति नेपाली युवा कतारमा कार्यरत छन् । नेपाली कामदारहरुले कतारमा प्रमुख कामहरुमा हाउस किपिङ, क्लिनिङ, कन्टक्सन, एक्काफोल्डिङ, पेन्टिङ, रंगरोगन, होटल–रेष्टुरेन्टमा वेटर, इलेक्ट्रिसियन, ड्राइभिङ, एयरपोर्ट/सुपरमार्केटमा ट्रली व्वाइ, सेक्युरिटी गार्ड, सुपरभाइजर, मेनेजरलगायत विभिन्न किसिमका काम गर्छन् ।
त्यस्तै कतारमा आफ्नै स्वतन्त्र व्यापार व्यवसाय गरेर बस्ने नेपालीहरुको संख्या पनि उल्लेख्य छ । नेपालमा जस्तै यहाँ प्रवासी भातृ संगठनमार्फत राजनीतिमा र समाजिक संस्थामार्फत सक्रियतापूर्वक लाग्नेहरु पनि छन् । यी त नेपालीहरको रोजगारीसँग सम्वन्धित कुरा हुन । तर यहाँ लेख्न खोजिएको कुरा भने नेपालीले नेपालीबाटै पाएको दुःख, कष्ट, झन्झट र भ्रष्टाचारको हो ।
कतारस्थित नेपाली राजदूतावासको भूमिका प्रभावकारी र पारदर्शी नहुँदा नेपाली दाजुभाई, दिदी वहिनीहरुले विभिन्न कठिनाइ भोग्नु परेको छ । नेपाली दूतावासले कामदारको सेवा सुविधामा ध्यान दिनुको सट्टा विभिन्न झन्झटिलो प्रावधान राखेर दुःख दिने र कर्मचारीहरुले अतिरिक्त रकम असुली गर्ने गरेका छन् । नेपालीहरु आफैले श्रमिक हेल्प डेस्क राखेर समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न खोज्दा समेत दूतावासले अनुमति नदिएको गुनासो गरेका छन् ।
राहदानी नविकरणको लागि स्लट नपाएर धेरै श्रमिकले समयमा कतारी आईडी पनि नविकरण गर्न नपाउँदा रोजगारी नै गुमाउने अवस्था आउने गरेको गुनासो त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका छन् । तर दूतावासले त्यसमा ध्यान दिएको छैन । त्यहाँ रहेका नेपाली संघसंस्थाले दूतावासमा कर्मचारी थप गरेर राहदानी नविकरणका लागि स्लट संख्या थप गर्न र पासपोर्टको मिति सकिएकालाई प्राथमिकतामा राखेर छुट्टीको दिनमा पनि पासपोर्टको फाराम भर्ने व्यवस्था गरिदिन माग गर्दै आएका छन् । दैनिक २२० देखि २५० सम्म स्लट खुल्ने भनिए पनि हप्तामा २ दिन मात्र खुल्ने गर्दा पालो आउनै मुस्किल हुने गुनासो गर्दै हप्तै भरी खोल्ने व्यवस्था गर्न माग गरेका छन् । तर दूतावासले त्यसमा ध्यान दिएको छैन ।
राजदूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदी उर्फ कृसु क्षेत्रीले त्यसैलाई कमाउने भाडो बनाएको गुनासो नेपालीहरुले गरेका छन् । सुवेदीले विचौलिया मार्फत पैसा लिएर काम गर्ने गरेकाले पैसा नदिने सोझासिधा नेपाली कामदारको पालो नै नआउने गरेको गुनासो छ ।
अहिले प्रविधियुक्त समयमा पनि नेपाली राजदुतावासमा डिजिटल भुक्तानीको सुविधा नहुँदा दैनिक सेवाग्राहीले समस्या भोग्नु परेको छ । डिजिटल भुक्तानीको व्यवस्था गर्नबाट उनै सुवेदीले रोकेको बुझिएको छ ।
सरकारले वैदेशीक रोजगारीमा जाने श्रमिकको हितको लागि विभिन्न शुल्क लिने गरेको छ । तर समस्यामा पर्दा, विरामी हुँदा, मृत्यु हुँदा दुतावासमा सहयोगको लागि सम्पर्क गर्दा बजेट नभएको जवाफ आउने गर्दा विभिन्न व्यक्तिबाट पैसा उठाउनु परेको कतारस्थित नेपालीहरुले बताएका छन् । श्रमिकको लागि पठाइएको पैसा दूतावासले दुरुयोग गरेको गुनासो त्यहाँस्थित विभन्न संघसंगठनका अगुवाहरुले बताएका छन् ।
विचौलिया, दलालहरु खडा गरेर नेपाली कामदारहरुबाट रकम असुल्ने प्रमुख पात्र सुवेदी रहेको बताइएको छ । सुवेदीले राजदूत रमेशचन्द्र पौडेललाई पनि निरीह जस्तै बनाएको दूतावासका एक कर्मचारीले बताए । उनले आफ्ना परिवारका सदस्यहरुलाई नेपालबाट बोलाएर आफू सहित छिमेकी मुलुक साउदी अरव, युएई, लगायत भ्रमणमा दूतावासको गाडी दुरुपयोग गर्ने गरेको बताइएको छ ।
सुवेदीले आफ्ना ड्राइभर र केही नजिकका व्यक्ति मार्फत पैसा उठाउने गरेको बताइएको छ । नेपालका मेनपावर कम्पनीका सम्पर्क अफिसहरु कतारमा पनि खोलिएका छन् ।
उनीहरुसँग पनि सुवेदीले पैसाको लिने गरेको बुझिएको छ । पैसा नदिए डिमान्डको प्रकृया नै रोकिदिने र पैसा दिँदा सम्बन्धीत कम्पनी बारे नबुझि डिमान्ड एप्रुभ गर्ने गर्दा नेपाली कामदारले दुःख पाउने गरेका छन् । अझ कतिपय कम्पनीमा त श्रमिक समस्यामा परेको गुनासो लिएर दुतावासमा आएकै बेला पनि त्यही कम्पनीलाई पुनः थप डिमान्ड स्वीकृत गर्ने गरेको गुनासो पनि सुनिएको छ ।
नेपाली राजदुतावासमा आम श्रमिकलाई सहयोग पुगोस भन्ने उद्देश्यले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संस्थाको खर्चमा फोटोकपि मेसिन, कम्प्युटर सहित एक जना कर्मचारी रहने गरी श्रमीक डेस्क राख्नको लागि पटक पटक अनुमति माग गर्दा पनि दुतावासले नदिएको बुझिएको छ ।
त्यस्तै पछिल्लो समय नेपाली महिलाहरु पनि रोजगारीका लागि कतारमा जाने संख्या वृद्धि भएकाले दुतावासको नेतृत्वमा न्युनतम मासिक रुपमा कानुनी तथा समसामयिक जानकारीको लागि सचेतना कार्यक्रम गर्न त्यहाँ रहेका नेपालीहरुले आग्रह गरे पनि दूतावासले टेरपुच्छर लगाएको छैन ।
दुतावास मार्फत लिइने विभिन्न सिफारीस वापतको शुल्क अत्यधिक महँगो रहेको गुनासो नेपाली कामदारले गरिरहेका बेला सुवेदी जस्ता भ्रष्ट कर्मचारीलाई थप नजरना चढाउनु पर्दा नेपाली श्रमिकहरु थप मर्कामा परेका छन् ।
दूतावासमा सुवेदीको मनोमानी, दादागिरी र मनीमाइन्डले धेरै नेपालीले दुःख पाइरहेको एक नेपाली समाजका पदाधिकारीले नाम नबताउने सर्तमा हामीलाई बताए । यस विषयमा नेपालस्थित सम्वन्धित निकयाहरुको ध्यान जान जरुरी देखिएको छ ।