काठमाडौँ । भारतले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ ।
दुई देशबीच शनिबार साँझ युद्धविराम घोषणा भएको थियो । त्यसको केही घण्टामै पाकिस्तानले सम्झौता उल्लंघन गरेको भारतको दाबी छ । भारतीय विदेशसचिव विक्रम मिस्रीले शनिबार राति एक विशेष पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन् ।
भारत र पाकिस्तानबीच युद्धविराम सहमति घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार राति राष्ट्रका लागि सम्बोधन गर्दै अमेरिका, बेलायत र चीनलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई उनीहरूको नामै लिएर बधाई दिएका हुन् । उनले पाकिस्तानका विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे । उनको देशविरुद्ध लगाइएका आरोप निराधार भएको र यसको जाँच गर्ने पनि उनले दाबी गरे ।
शहबाज शरीफको सम्बोधनको बारेमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्ततामा दुई देशबीच युद्धविराम भएको हो । दुवै देशले हवाई, जल र जमिनमा आक्रमण रोक्ने निर्णय गरेका छन ।
भारतीय सञ्चार माध्यमका अनुसार दुई देशबीच थप वार्ता १२ मेमा हुने जनाइएको छ । दुई साताअघि भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा एक नेपाली र २६ भारतीय नागरिकको ज्यान लिने गरी आतंकवादी हमला भएको थियो । पहलगाम घटनाको जवाफ भन्दै भारतले ७ मेमा पाकिस्तानका ९ स्थानमा हवाई कारबाही गरेको थियो । त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढेको हो । (एजेन्सी)