काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा जारी शिक्षक आन्दोलनबारे गम्भीर चासो प्रकट गर्दै तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासबाट आएको आदेशमा आन्दोलनरत शिक्षकका जायज र संविधानसम्मत मागहरूलाई सम्बोधन गर्दै नियमित पठनपाठन सुनिश्चित गर्न भनिएको छ। आदेशमा भनिएको छ, “विपक्षी निकायहरूले उचित निर्णय गरी आन्दोलनरत शिक्षकहरू विद्यालय फर्की पढाइ सुचारु होस् भन्ने वातावरण बनाउनु।”
यो रिट अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले दर्ता गरेका थिए। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएका थिए।
गत चैत २० गतेदेखि काठमाडौंमा केन्द्रित शिक्षक आन्दोलन जारी छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य माग राख्दै शिक्षकहरूले चरणबद्ध आन्दोलन चालेका हुन्।
सरकार र आन्दोलनरत पक्षबीच केही चरण वार्ता भए पनि अहिलेसम्म ठोस सहमति जुट्न सकेको छैन। अदालतको आदेशसँगै अब तीन दिनभित्र आन्दोलन अन्त्य गरी पढाइमा फर्कन दबाब पर्ने देखिन्छ।