काठमाडौं । भाारतका विद्युत्, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदै छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको हो ।
विद्युत् मन्त्री खट्टरले दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उनले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । आज नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चार सय केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ । बुधबार खट्टरले मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । बुधबार नै उनले प्रधानमन्त्री के.पी. शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
विद्युत् मन्त्री खट्टरले बिहीबार साँझ पशुपतिनाथको दर्शन गर्ने बताइएको छ ।























