काठमाडौं । राजसंस्था पुनस्र्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।
राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय राप्रपाको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने राप्रपाको माग छ । राजसंस्था पुनस्र्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ पनि राप्रपाको प्रदर्शनमा सहभागी हुने भएको छ । कार्यवाहक संयोजक डा.जगमान गुरुङले विज्ञप्ति जारी गर्दै राप्रपाको आइतबारको प्रदर्शनमा सहभागी हुन जानकारी दिएका छन् ।
गृह मन्त्रालयले भने राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यता, प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत भेटेका छन् ।
शुक्रबार २ बजेसम्म चलेको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना नेताहरू सहभागी थिए । भेटमा राप्रपा नेताहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र ज्ञानेन्द्र शाही बैठकमा सहभागी भएका जनाइएको छ ।
ज्ञानेन्द्रले राजसंस्था पक्षधर सबैलाई मिलाएर लैजान लिङ्देनलाई आग्रह गरेका थिए । सो क्रममा पूर्वराजाले राजसंस्था पुनस्र्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएको बुझिएको छ ।