काठमाडौं । चैत १५ गतेको तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई आज भद्रपुर हुँदै विमानबाट जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।
आवश्यक कागजात मिलाएर सरकारी वकिलको कार्यालय लगिएका उनलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ । ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरीले आजै म्याद थप गर्ने बताइएको छ ।
चैत १५ मा भएको हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं भारतको आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मुलका नागरिकको घरमा लुकेर बसेको फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले लामो समय रेकी गरेर उनलाई पक्राउ गरेको हो । फरार भएपछि जारी गरेका दुई वटा भिडियो सन्देश समेत त्यहीँ खिचेको पाइएको प्रहरीले जनाएको छ ।
१७ चैतमा दिउँसो पहिलो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंकै एक मन्दिरमा रहेको र सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गरेका थिए । तर, त्यो भिडियो आसामबाट उनी पक्राउ परेकै घरमा खिचेको भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनले खिचेको भिडियोमा देखिएको मन्दिरमा गएर दर्शन नै गरेर प्रहरीले तस्बिर लिएर आएको र दोस्रो भिडियो पनि त्यही क्षेत्रमा खिचेको पाइएको प्रहरीले जनाएको छ ।
बुधबार दोस्रो सार्वजनिक भिडियोको पृष्ठभूमि एडिट गरेर जोडेको पाइएको प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीसँग समन्वय गरेर नेपाल प्रहरीले उनलाई बिहीबार पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै झापा ल्याएको थियो ।
सोही दिनको घटनामा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत रहेको काठमाडौंमा जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा प्रसाईलाई पनि राखिने बताइएको छ ।
चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने दर्जनौं सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए ।