काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा आगलागी भएको घरभित्र देखिएकी एनी कुँवर पक्राउ परेकी छिन् । कुँवरसँगै अर्का एक पुरुष पनि स्कापले पुरै मुख छोपेर झर्दै गरेको देखिएको थियो ।
आगजनी भएको घरमा पत्रकार सुरेश रजक मृत भेटिएका थिए । सोही घरबाट एनी तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यहीँ पत्रकारको मृत्यु भएको र त्यही समयमा उनी झर्दै गरेको देखिएकाले सोधपुछका लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एक अधिकृतले बताएका छन् ।
पत्रकार एवं धार्मिक अभियन्ता समेत रहेकी एनीले आगोलागि भएको घरमा केही छ कि भनेर हेर्न र आगो निभाउन गएको तर आफूले त्यसबेला कसैलाई पनि नदेखेको दाबी गरेकी थिइन् ।
अर्काको घरमा अनधिकृत प्रवेश गरेको पुष्टि भएकाले कुँवरलाई निर्दोष मान्न नसकिने प्रहरीले जनाएको छ । आगो कसले लगायो भन्ने पुष्टि नभए पनि घरभित्र प्रवेश गरेका सबैलाई अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ ।
एनी एभिन्युज टिभीकी पूर्वपत्रकार हुन् भने आगजनीमा परेर मृत्यु भएका रजक एभिन्यूजकै क्यामेरा पर्सन हुन । उनले आफूले घरभित्र पानी हाल्दै गरेको तथा बाहिरबाट लाइभ गरेर गुहार मागेको भिडिओ सार्वजनिक गर्दै आफू निर्दोष रहेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।
दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो । सो प्रकरणमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणा लगायत हिरासतमा छन् भने प्रसाईं फरार छन् ।
त्यस्तै प्रहरीले सोही दिन जडिबुटी चोकको ट्राफिक लाईट फुटाउने र जडिबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाउने मुख्य व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो । यसअघि प्रहरीले भाटभटेनीमा लुटपाट गर्नेदेखि तीनकुनेमा आगो लगाउनेसम्मलाई पक्राउ गरेको थियो ।