काठमाडौं । राजधानी केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको थियो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज एक विज्ञप्ति जारी गर्दै देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा रहेका उनीहरुले चैत २५ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
शिक्षा ऐन जारी गराउने ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’
महासंघले आन्दोलनको अवधिमार उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ । यसले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको हो ।
यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण हुनुपर्ने हो । परीक्षण प्रभावित हुँदा असार ७ मा निकाल्ने भनेको नतिजा प्रभावित हुन्छ जस्तो छ’, निमित्त प्ररीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भनेका छन् ।
२०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा मा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश भएका छन् ।
आन्दोलनका कारण भर्ना अभियानसमेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।