काठमाडौं । भाटभटेनी सुपरमार्केटले चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई नगदका साथै ग्रेड वढुवाबाट पुरस्कृत गरेको छ ।
आज एक कार्यक्रमकाबीच भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवासहित दुवोको माला लगाइदिएर सम्मान प्रदान गरेका छन् ।
त्यस्तै सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ । अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको बताइएको छ ।
यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा गरेर पुरस्कृत गरिएको छ ।
चैत १५ गते भएको प्रदर्शनका क्रममा राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । सुरक्षा गार्ड पराजुलीले एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिटेर लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यस्तै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले सोही दिन तीनकुने घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने बताएका छन् ।