काठमाडौं । सरकारले राजावादीको आन्दोलनको क्रममा भएको क्षतिको सम्पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्ने बताएको छ । आज साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलनको सबै क्षतिको जिम्मेवार प्रसाईँलाई बनाइने बताएका हुन् ।
आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने वताउँदै हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याइने रिजालले बताएका छन् ।
पत्रकार सम्मेलनमा सहसचिव रिजालले भने “आन्दोलनको नेतृत्व चाहीँ दुर्गा प्रसाईँले गरेको हुनाले मूलभूत रुपमा उहाँ नै आजको यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ । आज जति पनि क्षति भएको छ, यो क्षतिको पूर्ण रुपमा जिम्मा पनि आयोजकको तर्फबाट उहाँहरुले लिनुपर्छ । मानिसहरु तत्काल पक्राउ परेनन्, छुटिहाले, अब यत्तिकै हो भन्ने अवस्था छैन, कानूनी दायरामा ल्याएर छाड्छौ ।’
प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ । सुरक्षा प्रमुखहरूको बैठकपछि गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यो निष्कर्ष सुनाइएको हो । गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भनेको छ ।
दुर्गा प्रसाईको अगुवाइमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, अस्पताल तोडफोड र आगजनी भएको मन्त्रालयका सहसचिव रिजालले पत्रकार सम्मेलनमा बताएका छन् ।
राजावादीको तीनकुने आन्दोलनमा झडप र आगजनीमा दुई जनाको मृत्यु भएको छ भने १५ जना सुरक्षाकर्मीसहित ३० जना घाइते भएको बताइएको छ ।