काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । दोहोरो सुविधा लिएको भन्दै उनीहरुविरुद्ध अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गरेका हुन् ।
आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि आवास र अन्य सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।
भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण भइसकेको छ।
रु ८५ करोड रुपैयाँ भन्दा बढी खर्चमा ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ । आवासमा प्रदेश प्रमुखको निवास र मुख्यमन्त्रीका निवास छन् । उनीहरु काठमाडौं आउदा त्यही निवासको प्रयोग गर्छन । उनीहरुलाई खाना, कर्मचारी, गाडीलगायतको थप खर्चको व्यवस्था पनि गरिएको छ । रिट निवेदनमा अधिवक्ता भुषालले राज्यकोषमा भार पारेकाले उक्त सुविधा खारेज गर्न माग गरेका छन् ।