सुनसरी । इटहरीको सेन्ट्रल प्लाजामा आगलागी हुँदा १० तले भवनमा फसेका ३ जनाको पनि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेपछि त्यहाँ अड्किएका ३ जनाको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो ।
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले आगलागी भएपछि छतमा अड्किएकाहरूको उद्दारको लागि हेलिकोप्टर मगाइएको र हेलिकोप्टरले उद्दार गरेको बताएका छन् ।
प्रदेश सरकारको आग्रहमा गृह मन्त्रालयले उद्धारको लागि हेलिकोप्टर पठाएको थियो ।
प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको थियो । उक्त तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालन छन् । होटल रहेको ठाउँबाट आगो लागेको हुनसक्ने प्रहरीको अनुगमन छ।
आगलागी नियन्त्रणका लागि विराटनगर, इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरी खटिएका छन् ।
आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्सका ठूला पसल सञ्चालनमा छन् ।
आगलागी भइरहेको प्लाजाबाट त्यसअघि १६ जनाको उद्धार गरिएको थियो । ८ जनालाई डोरीको सहायताबाट उद्धार गरिएको थियो ।