काठमाडौँ । २५ करोड रुपैयाँभन्दा बढी रकम बोकेको ट्रक सहित पक्राउ परेका व्यक्ति यसअघि सुन तस्करी पक्राउ परेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार काठमाडौँको टोखा क्षेत्रबाट पक्राउ गरेको ना७ख १६५२ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१, का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा रहेका छन् ।
लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
आजै नियन्त्रणमा लिएको ट्रक, बरामद रकम र लामालाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृतले बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदैछ भन्ने सूचना आएपछि धेरै गाडीहरू सर्च गर्ने क्रममा ट्रक रोकिएको र सुरुमै चालक अलि डराएको जस्तो देखिएपछि थप सजक भएर सोधपुछ गरिएको र उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि नियन्त्रणमा लिएर छानबिन गर्दा पैसा भेटिएको जानकारी दिएका छन् ।
उक्त ट्रकबाट अमेरिकी डलर र युरो रकम बरामद गरिएको प्रहरीको भनाइ छ । आजको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामा यसअघि ७ किलो सुन सहित कलंकीबाट समातिएर पाँच वर्ष जेल बसेर २०७८ सालमा निस्किएका थिए ।